
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताउनु भयो । उहाँले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उहाँले, ………‘संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण मेरो पहिलो प्राथमिकतामा छ । संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै यो प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिन्छ ।’ बताउनु भयो ।
प्रधानमन्त्री दाहालले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरु आफूले गम्भीरतापूर्वक नियालिरहेको बताउनु भयो ।
उहाँले महानगरले शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरुको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, लागुऔषध, सुर्ति, चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति र रोजगारी सिर्जनाका क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्