२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनुहुँदैन : महामन्त्री थापा


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु नहुने बताउनुभएको छ ।

महामन्त्री थापाले वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको समेत बताउनुभयो । उहाँले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताउनुभयो ।

महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गर्नुभयो । उहाँले कुनै एक समूहको स्वार्थ र फाइदाको लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै अध्ययन आधार बिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सेन्ज दिँदा कुशासनको अर्को प्रकरण शुरु हुने जिकिर गर्नुभयो ।

महामन्त्री थापाले मुलुक एकपछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी दिनुभयो । उहाँले सरकारबाट भाषण सुशासनको र निर्णय कुसशासनको गर्ने काम हुनु नहुने बताउनुभयो ।

महामन्त्री थापाले नयाँ स्टक एक्सेन्जको विषयमा समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएको भन्दै सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गर्नुभयो । उहाँले नयाँ स्टक एक्सेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले कांग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले अहिले नागरिकहरु कुशासनबाट आजित भएको बताउनुभयो ।