
काठमाडौं । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शुक्रबारदेखि तीन दिने सत्याग्रह सुरु गर्ने हुनुभएको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आजै साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने बताउनुभएको हो ।
विगत लामो समयदेखि मुद्दाहरु उठाएर पटक पटक सत्याग्रहमा बस्दै आएपनि सरकारले माग पूरा नगरेको डा. केसीको आरोप छ ।
सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्ने, गेटामा शिघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज बनाउनुपर्ने लगायतका माग गर्नुभएको छ ।
जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि आफूसँग भएका सम्झौता अनुसार इलाम, उदयपुर र डडेलधारामा सरकारी मेडिकल कलेजहरु खोल्नुपर्ने, सय शैय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरु गर्नुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानूनी व्यवस्था गर्नुपर्नेलगायत माग पनि उहाँले राख्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्