
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताउनुभएको छ ।
शुक्रबार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँहरुमा सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताउनुभएको हो । उहाँले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको बताउनुभयो ।
मन्त्री किराँतीले लोकगित, उखानटुक्का, कथा, मुन्धुम र कैरनहरुमा रहेका कतिपय विषयहरुलाई रेकर्ड गरेर राख्न मौखिक ज्ञान संग्रहालय बनाउन लागेको पनि बताउनुभयो । त्यस्तै, रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको उहाँले बताउनुभयो । मन्त्री किराँतीले आफुहरु संस्कृति ऐन निर्माणका लागि अगाडि बढेको पनि बताउनुभयो ।
मन्त्री किराँतीले सांस्कृतिक सम्पदाहरुलाई राष्ट्रको पुँजीमा बदल्नको निम्ति, उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्नको निम्ति र नेपालको अनुहार एक मञ्चबाट विश्वलाई एक साथ देखाउनको निम्ति माटोको गीत सांस्कृतिक कार्यक्रम गरिएको बताउनुभयो । उहाँले संस्कृतिको प्रवद्र्धन गर्न, पर्यटकलाई खुशी पार्न, कलाकारलाई रोजगारी सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउन पनि सो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँले सांस्कृतिक कुटनीतिलाई विस्तार गर्ने उद्देश्यले पनि सो कार्यक्रम गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्