२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


चोभारमा जीपलाइन सञ्चालनमा


1.053k
Shares

काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गर्नुभएको हो ।

शनिबारबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । शुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गर्नुभयो । उहाँले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताउनुभयो । उहाँले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताउनु भयो ।

अध्यक्ष महर्जनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताउनुभयो । उहाँले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताउनुभयो ।

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहीत रहेको बताउनुभयो । उहाँले बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताउनुभयो ।

उहाँले नेपालमा पर्यटक बढाउने गतिविधि बढी भन्दा बढी हुनुपर्ने बताउनुभयो । क्यानओपी जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।