
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले तीनै तहका न्यायाधीश उपर न्यायपषिद्मा रहेका विचाराधीन उजुरीहरु टुङ्ग्याउन प्रयासरत रहेको बताउनुभएको छ । न्यायापरिषद्को ३३औं वार्षिककोत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले परिषद्मा भएका उजुरीमा परिषद्ले प्राथमिकताकासाथ अध्ययन गरिरहेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय परिषद्प्रति बढेका निराशालाई आशा र भरोसामा बदल्ने प्रयासमा आफुहरु रहेको बताउनुभयो ।
यसैगरी, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले देशका धेरै संस्थामा बढ्दो भ्रष्टाचारको छोइछिटो न्यायपालिकामा पनि परेको हुनसक्ने बताउनुभयो । न्यायपालिकालाई स्वच्छ बनाउन कुनै कसर बाँकी नराखिने न्यायाधीश खतिवडाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्याय परिषद् ऐनमा मर्यादाक्रम फरक पर्ने गरि भएको संशोधनमा आपत्ति जनाउनुभयो । उहाँले संविधानमै संशोधन गर्नुपर्ने गरि न्यायपरिषद ऐनमा भएको हेरफेरमा आफुहरुको असन्तुष्टि रहेको उल्लेख गर्नुभयो । उहाँले फौजदारी न्यायमा पनि उदार हुन नसकेको जिकिर गर्नुभयो । उहाँले अर्थसँग सम्बन्धित मुद्दामा थुनामै राखेर कारबाही गर्न थालेपछि व्यवसायीहरू हतोत्साहित हुन थालेको भन्दै यसलाई विचार गर्न आवश्यक रहेको बताउनुभयो ।
दिवसको अवसरमा न्यापरिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यलाई उत्कृष्ट न्यायाधीशको रुपमा सम्मान गरेको छ । परिषद्ले यस वर्ष लामो समयदेखि सर्वोच्च लगायत तिनै तहका अदालतमा रिक्त न्यायाधीशको पदमा न्यायाधीश नियुक्ति गरेको छ ।
परिषद्ले सर्वोच्च अदालतमा ७, उच्च अदालतको मुख्य न्यायाधीशमा ६ र २७ जना न्यायाधीश नियुक्त गरेको हो । यस्तै, देशभरका जिल्ला अदालतहरुमा ३७ जना जिल्ला न्यायाधीश नियुक्त भएका छन् । यस्तै, न्यायापरिषद्मा अहिलेसम्म परेका ३ सय ३९ वटा उजुरी मध्ये ४९ वटा मात्र फछ्र्यौट भएको पनि परिषद्ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्