१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ मतदाताको नामावली स्वीकृत


0
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५ सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जनागरी कूल दुई हजार ४७ जनाको नामावली स्वीकृत भएको हो ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाएर ५४९ जना कायम गरिएको आयोगले जनाएको छ ।

मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअन्तर्गत प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको कुलमतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार रहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने छ । प्रकाशित नामावलीमा कुनै मतदाताको नाम छुटेको भए नाम समावेश गर्न, व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने छ ।

पुस २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ ।