१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कानून नसच्याए तोकिएको समयमा द्रुतमार्ग निर्माण सम्पन्न हुँदैन : प्रधानसेनापति शर्मा


1.027k
Shares

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम नसकिने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले कानूनी उल्झनका कारण काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माणको काम अगाडी बढाउन नसकिएको बताउनुभएको हो । उहाँले कानूनी प्रक्रियाका कारण ४ वटा रुख काट्न ९ महिनासम्म लाग्ने गरेको उदाहरण दिँदै यही कानूनी व्यवस्था रहिरहेमा २०८३ साल सम्ममा द्रुतमार्ग निर्माणको काम नसकिने स्पष्ट पार्नुभयो ।

प्रधान सेनापति शर्माले विकास निर्माणमैत्री कानून नभएको भन्दै यसकारण काम गर्न ढिलाइ भइरहेको बताउनुभयो । उहाँले पैसाको कारणले काम गर्न ढिलो नभएको बताउनुभयो । प्रधान सेनापति शर्माले नेपाली सेनाले फास्ट ट्रयाक निर्माण गर्नका लागि नमागेको भन्दै सरकारले दिएको जिम्मेवारी स्वीकार गरेर काम गरिरहेको बताउनुभयो ।

प्रधान सेनापति शर्माले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काममा विद्यमान ऐन, कानून र नियमको परिधिभित्र बसेर ठेक्का लगाएको पनि बताउनुभयो । उहाँले द्रुतमार्ग निर्माणको काममा अहिलेसम्म अनियमितता नभएको र आगामी दिनमा पनि अनियमितता हुन नदिने बताउनुभयो । भ्रष्टाचार भएमा कारबाही गर्ने उहाँको भनाई छ ।

प्रधान सेनापति शर्माले सेनाप्रतिको आशंका अन्त्य गर्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सेनाको कामलाई विवादित पार्न पनि नदिने बताउनुभयो ।