
काठमाडौं । गुणस्तरहिन सौन्दर्यका लागि प्रयोग हुने कस्मेटिक सामग्री रोक लगाउन सांसदहरुले माग गरेका छन् ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले गुणस्तरहिन सामानको प्रयोगले महिलाहरुमा छाला बिग्रने जस्ता समस्या आउने खतरा रहेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन माग गरे । सांसदहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा बजारमा कस्मेटिक पसल तथा पार्लरहरुले प्रयोगमा ल्याउने गरेको बताए ।
उनीहरुले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए । सांसदहरुले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरुको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरे/नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए ।
समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले महिलाहरुले प्रयोग गर्ने कस्मेटिक सामान बनाउने कच्चा पदार्थ आयात गरेर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा बेच्ने गरेको बताउनुभयो । उहाँले कस्मेटिक उद्योगहरुले गुणस्तरहीन कस्मेटिक सामान ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको भनि ग्राहकहरुलाई झुक्याउने गरेको बताउनुभयो ।
गुणस्तरहिन कस्मेटिक सामान प्रयोगले महिलाहरुमा छाला लगायतका ठूलो समस्या आउने खतरा रहेको बताउनु भयो। उहाँले कस्मेटिक वस्तुहरुको गुणस्तरमा सरकारले ध्यान दिन नसके महिलाहरुको स्वास्थ्यमा विकाराल अवस्था आउनसक्ने बताउनुभयो । उहाँले नेपालमा अनुमति नभएका अन्तर्राष्ट्रिय कस्मेटिक सामानहरु रहेको बताउनु भयो । उहाँले पछिल्लो समय भारतबाट मिति सकिएका औषधिहरु नेपालमा आयात भइरहेकाले अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो । उहाँले नेपालमा प्रयोग हुने खाने तेलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभइ २२ प्रतिशत भन्दा बढी अखाद्य पदार्थ मिसावट भएको विभिन्न अध्ययनले देखाएको पनि बताउनुभयो ।
त्यस्तै, नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले गुणस्तरहिन कस्मेटिक तथा औषधिजन्य सामानको प्रयोगबाट आएको समस्या आफैंले भोगेको बताउनुभयो । उहाँले काठमाडौंका विभिन्न फेसियल सेन्टरमा अनुमति नभएका औषधि प्रयोग गरेर अनुहार राम्रो हुने भन्दै दैनिक २ लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले सरकारले त्यस्तो ठाउँमा अनुगमन गरी रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले एक पटक फेस जाँच गर्दा आफैँले २८ हजार रुपैयाँ खर्च गरेको बताउनुभयो ।
बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सीता मिजारले गुणस्तरहिन कस्मेटिक र औषधिको सिकार महिला मात्रै नभएर धेरै पुरुषहरु समेत भइरहेको बताउनुभयो । उहाँले सामान्य मानिसहरु समेत हाइटोफेसियल गर्ने भनेर सांसदहरुलाई समेत बोलाउने गरेको बताउनुभयो । उहाँले सरकारले कुन मापदण्डमा यस्तो काम गर्न दिएको छ त्यो विषयमा पनि अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीन तहका सरकार भएपनि कसले के अनुगमन गर्ने भन्ने अन्योल रहेकाले समस्या भएको देखिएको भन्दै बजार अनुगमनलाई समन्यकारी रुपमा गर्ने ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
बैठकमा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले कस्मेटिक समानहरुको गुणस्तर मापन गर्ने ल्याप नभएको बताउनु भयो । उहाँले गुणस्तर मापन गर्ने ल्याब नभएकाले गुणस्तर नभएका कस्मेटिक पदार्थहरु प्रयोग गर्दा महिलाहरुमा छालाजन्य रोगहरु बढ्नसक्ने बताउनु भयो । उहाँले गुणस्तर परीक्षणको लागि नाप तथा तौल विभागलाई आग्रह गरेको बताउनुभयो ।
उहाँले नेपालमा अर्बौं रुपैयाँको केमिकल मिश्रण भएका हानिकारक वस्तुहरु आयात भएपनि गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा परीक्षण गर्न नसकिएको बताउनुभयो । उहाँले मापन नहुँदा स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने मापदण्ड पनि नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्