२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने


0
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्दका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो ।

समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहनुभएको उहाँले बताउनुभयो । प्रवक्ता सापकोटाले पार्टीको केन्द्रिय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने पनि जानकारी दिनुभयो ।

बैठकमा माओवादीको चलिरहेको जनतासँग माओवादी–विशेष रुपान्तरण अभियानको समिक्षा भएको उहाँले बताउनुभयो । अभियानले पार्टीलाई जीवन्त र गतिशिल बनाएको र नेता, कार्यकता र जनताका बीचमा नयाँ ढंगले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालिएको प्रवक्ता सापकोटाले बताउनुभयो । अभियान प्रभावकारी भएको उहाँले बताउनु भयो ।

जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान पुस १६ गते सबै पालिकाहरुमा वृहत जनपरिचालसहित समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिनुभएको विषयमा कुनै छलफल नभएको बताउनुभयो । उहाँले पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी भने गराउनुभएको बताउनुभयो ।