
काठमाडौं । निरन्तरजसो बुलिस ट्रेण्डमा रहेको शेयर बजारमा साताको अन्तिम दिन उच्च अंकको करेक्सन आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले ओरालो लागेर २१ सय ९ मा आएर थामियो ।
बिहीबार उत्पादनमूलक र व्यापार बाहेक बाँकी सबै समूह ओरालो लाग्दा सवा ६ अर्बको कारोबार भयो । विकास बैंक र वित्त समूह सबैभन्दा उच्च ३ प्रतिशत बढीले ओरालो लागे । यसदिन होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त समूहमा पनि २ प्रतिशतले कमी आयो ।
बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ४ कम्पनीको १ करोड ७१ लाख कित्ता शेयर ६ अर्ब २७ करोडमा खरीदबिक्री भएको छ । बिहीबार पनि बोटलर्स नेपाल, आशा लघुवित्त, धौलागिरी लघुवित्त, वि पी डव्लु लघुवित्तलगायत दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
बिहीबार सूर्यज्योती लाइफ इन्सुरेन्स, उन्नती सहकार्य लघुवित्तका शेयरमूल्य ७ प्रतिशतले घटे । बिहीबार १ सय ९१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ५० कम्पनीको मूल्य बढ्यो । बिहीबार पनि कारोबार रकमको आधारमा शिवम सिमेन्ट लिमिटेडको ३० करोडमाथिको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्