
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको हो ।
नेपाल एयरलाइन्सले आजमात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो । सांसदहरुको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किराँतीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले वर्षमा २० करोड भन्दा बढी घाटा व्यहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा व्यहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताउनुभयो ।
मन्त्री किराँतीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गर्नुभयो । उहाँले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गर्नुभयो ।
मन्त्री किराँतीले आफूलाई परिणाम दिनेगरी काम गर्न मन लागेको भएपनि काम गर्न नपाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्