
काठमाडौं । नेपाल र संयुक्त अधिराज्य(युके)बीच दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको छ ।
नेपाल र संयुक्त अधिराज्य(युके)का बीचमा सन् १९२३ डिसेम्बर २१ मा दौत्य सम्बन्ध कायम भएको थियो ।
बिहीबार नेपाल र युकेका बीचमा दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको हो ।
दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाल–युके सम्बन्धको सय वर्ष मित्रता, आपसी सहयोग र सद्भावका साथ अगाडी बढेको बताउनु भयो । उहाँले दुई देशका बीचमा राजनीतिक, आर्थिक, पर्यटन को क्षेत्रमा सम्बन्ध भएको उल्लेख गर्नुभयो ।
त्यस्तै, व्यापार, लगानी, गोर्खा सैनिकदेखि जनताको तहसम्म सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । दुई देशका बीचमा प्रजातन्त्र, मानव अधिकार, कानूनी शासन, स्वतन्त्रताको सवालमा एकै प्रकारको अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त अधिराज्यका राजदुत रोब फेनले नेपाल विगतदेखि नै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले नेपाल विश्वमाझ चिनिएको र नेपाल धेरै मन पराइएको राष्ट्रको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको सहयोगी राष्ट्र हुन पाएकोमा युकेले गर्व गर्ने बताउनुभयो ।
उहाँले नेपालको आगामी भविष्य उज्वल रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्