१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेश प्रदेशमा यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने


221
Shares

काठमाडौं । यस वर्ष मधेश प्रदेशमा गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । यस वर्ष गहुँबालीका लागि आवश्यक पर्ने डिएपी मल जिल्लाहरुमा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाहरुमा कोटाअनुसार पठाइसकेको जनाइएको छ ।

यस्तै गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा चाहिने युरिया मल पनि केही दिनभित्रै उपलब्ध गराइने कार्यालयले जनाएको छ । मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या नहुने पनि बताइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सालाई चालु आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा युरिया १५ हजार आठ सय ९४ मेट्रिक टन, डिएपी १९ हजार दुई सय १३ मेट्रिक टन रासायनिक मल प्राप्त भएको हो ।

अब एक महिनाभित्र डिएपी २५ हजार मेट्रिक टन मल आइपुग्ने निश्चित भएको र रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त हुनासाथै मलखाद्य बाँडफाँड भएअनुसार जिल्लाहरुमा मल पठाउँदै आएको कार्यालयले जनाएको छ ।

पर्सा जिल्लामा मात्र युरिया चार हजार सात सय ७० मेट्रिक टन, डिएपी दुई हजार नौ सय ४३ मेट्रिक टन र पोटास चार सय चार मेट्रिक टन मल बिक्री गरिएको छ ।

देशभर लगभग सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता हुने गरेको भएपनि अहिले मागको करिब ५० प्रतिशतभन्दा पनि कम आपूर्ति हुने भएकाले वर्सेनी मलको हाहाकार हुने गरेको कार्यालयले जनाएको छ ।