
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लिखु एग्रिकल्चर नेपाल प्रालिले लगाएको अनार खेतीमा समस्या देखिएको छ ।
२०६९ सालमा लगाइएको अनारले फल दिन सुरु गरेपनि डाँठमा किरा लाग्ने, बोट तथा हाँगा सुक्ने, फुल फले पनि चिचिला नअडिने, चिचिलामै कीरा लाग्नेलगायतका समस्या देखिएका छन् ।
लिखु नदीको किनारमा रहेको माटेबेँसी र गाम्नाङटार गाउँमा गरि अहिले पनि यो फार्मले २ सय रोपनीभन्दा बढी क्षेत्रमा अनारको बोट लगाएको छ ।
अनार खेतीमा देखिएको समस्या विकराल बन्दै गएको र कतैबाट प्राविधिक सहयोग नपाएको कम्पनीका सञ्चालक लोचन बस्नेतले बताउनुभयो ।
सुरुवाती चरणमा कम्पनीले १ हजार रोपनी क्षेत्र भाडामा लिएर खेती सुरु गरेपनि अनारमा प्राविधिक समस्या देखा पर्न थालेसँगै खेती क्षेत्र घटाएर जग्गा किसानलाई नै फिर्ता गरेको थियो । यो कम्पनीले लिखु क्षेत्रमा कृषि सम्बन्धी बहुउद्देश्यीय काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्