
काठमाडौं । सरोकारवालाहरुले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रबार काठमाडौमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु सम्बन्धि गालेमेच अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा श्रमविज्ञ रामेश्वर नेपालले नियन्त्रण गर्नसक्ने अवस्था नभएकाले सरकारले लगाएको प्रतिवन्ध हटाउनुपर्ने बताउनुभयो । सत्तारुढ नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले नेपाली महिला कामदारहरु वैदेशिक रोजगारीमा जानुको कारणबारे खोजी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा नै महिला श्रमिकहरुले ठूलो पीडा भोग्नुपर्ने अवस्था विद्यमान रहेकाले त्यसको अन्त्य गर्नका लागि सरकारलाई गम्भिर हुन पनि आग्रह गर्नुभयो ।
श्रमविज्ञ नेपालले खाडी मुलुकमा घरेलु कामदारको रुपमा महिला पठाउने कुरालाई सरकारले फुकुवा गर्दै कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का निमयहरुको पालना नगर्ने देशहरुमा घरेलु काममा लागि महिलालाई वैदेशिक रोजगारमा पठाउने कुरा उपयुक्त नहुने बताउनुभयो । उहाँले त्यहाँ गएर आएका महिलाहरुको पीडालाई पनि सम्बोधन हुनेगरी सो सम्बन्धि निर्णय लिनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा आप्रवासी महिला समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिवन्ध फुकाउने विषयमा सरकारलाई आफूहरुले सुझाव दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्