२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युवाहरु सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री महत


234
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताउनुभएको छ ।

शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरुलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गर्नुभयो । उहाँले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरुले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताउनुभयो ।

अर्थमन्त्री महतले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल भित्रै केही गर्न सकिन्छ भन्ने हिसावमा युवाहरुले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताउनुभयो ।

अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरु सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताउनुभयो । उहाँले सरकारले पनि आईटी क्षेत्रको प्रवद्र्धन गर्दै लैजाने बताउनुभयो ।

अर्थमन्त्री महतले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रुपमा सुधार हुँदै गएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताउनुभयो ।