
नवलपरासी । नवलपरासीका विभिन्न स्थानमा श्रृंखलावद्ध चोरी गर्ने ६ जना गिरोहलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
सुनवल र रामग्राम नगरपालिकाका विभिन्न सरकारी कार्यालय र व्यक्तिका घरमा पसेर गरगहनादेखि विभिन्न सामान चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सुनवल क्षेत्रबाट ३ जना र रामग्राम नगरपालिका क्षेत्रबाट ३ जना पक्राउ परेका हुन् । स्थानीयले चोरी गर्नेहरुको सम्बन्धमा दिएको जानकारीका आधारमा उनीहरुलाई पक्राउ गरिएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको घर र डेरामा खानतलासी गर्दा चाँदीका गहना, कम्प्युटर, साइकल, मोबाइललगायतका १५ प्रकारका सामान फेला परेको पनि डिएसपी बोहराले जानकारी दिनुभयोे । उनीहरु सबैलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्