
सुशील गैरे
कपिलवस्तु । देशका हरेक पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप ग्रामीण तथा दुर्गम क्षेत्रमा अस्पताल बन्न सकेका छैनन् । अधिकांश पालिकाहरूमा आधारभूत उपचार समेत नहुँदा विरामीहरूले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट उपचार पाउँदा स्थानीयले गाउँमा अस्पताल खुलेको महसुस गरेका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको गौतमबद्ध माध्यमिक विद्यालयमा बिहानैदेखि भिडभाड देखिन्थ्यो । उपचारका लागि सर्वसाधारण लाइनमा बसेर सेवा लिइरहेका थिए । उपचार गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा पाउने भएपछि अस्पताल जानै नपर्ने भन्दै स्थानीय दङ्ग थिए । अस्पतालको पहुँच नभएको पालिकामा एकै पटक १६ जना विशेषज्ञ चिकित्सक सहितको टोली आएपछि बिरामीको ओइरो लाग्यो ।
२०७७ साल देखि निःशुल्क स्वास्थ्य शिविर मार्फत गाउँ गाउँमा सेवा पु¥याएको काठमाडौ मेडिकल कलेजको स्वास्थ्यकर्मीको टोलीले सेवा दिँदा कपिलवस्तुको बुद्धभुमि नगरपालिकाका जनताले राहत महसुस गरेका छन् । शिविरमा मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको चेकजाँच र उपचार गरिएको थियो ।
मेडिकल कलेजले हरेक वर्ष १ सय बढी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाको पहुँच नभएको क्षेत्रमा पालिकासँग समन्वय गरी शिविर सञ्चालन गर्दै आएको काठमाडौं मेडिकल कलेज तथा नोवेल मेडिकल कलेजका सञ्चालक तथा संघीय सांसद सुनिल शर्माले बताउनुभयो ।
शिविरमा २ हजार बढीले सेवा लिएका छन् । शिविरमा २०० बढीले भिडियो एक्स–रे तथा २५० बढीले ई सिजी सेवा लिएका छन् । स्वास्थ्य शिविरबाट रिफर भएका बिरामीको पालिका र काठमाडौं मेडिकल कलेजको सहकार्यमा निःशुल्क शल्यक्रिया हुने पालिकाले जनाएको छ ।
जनताको स्वास्थ्यसम्बन्धी अधिकार प्रत्याभूत गराउन शिविरको आयोजना गरिएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।
बेलाबेलामा सञ्चालन हुने यस्ता स्वास्थ्य शिविरले ग्रामीण दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताको ठूलो राहत मिल्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्