८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन योजना बनाउनेलाई कारबाही हुनुपर्छ : सभापति यादव


1.417k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताउनुभएको हो ।

सभापति यादवले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालिन योजना बिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले बिना योजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरु विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गर्नुभयो ।

सभापति यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताउनुभयो । उहाँले कुनैपनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गर्न नहुने बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताउनुभयो ।

सभापति यादवले पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको भन्दै फाइलहरुको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने बताउनुभयो । उहाँले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताउनुभयो । उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताउनुभयो । उहाँले विकास विरोधी र मधेस बिरोधी चिन्तन भएकाहरु काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस भइरहेको बताउनुभयो ।

सभापति यादवले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिनसक्ने बताउनुभयो । उहाँले नेपाललाई आर्थिक रुपमा समृद्ध, अन्तर्राष्ट्रिय रुपमा सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्नको लागि हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचिबाट हट्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।