
काठमाडौं । ८ औं घरजग्गा मेलामा आएका अवलोकनकर्ता एवं लगानीकर्ताहरुले मेलाले घरजग्गाको कारोबार चलायमान बनाउन भुमिका खेलेको बताएका छन् ।
शुक्रबारदेखि सुरु सञ्चलन भएको मेला शनिबार तेस्रो दिन पनि चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा कोरोना महामारीपछि पहिलोपटक सञ्चालन भएको मेलामा अवलोकन कर्ता एवं लगानीकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।
मेलाको अवलोकन गर्न आएकाहरुले केही वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार यस मेलालो चलायमान बनाउने अपेक्षा गरेको बताए । मेला अवलोकन गर्न आउनुभएका लगानी कर्ता एवं अवलोकन कर्ता चेतनारायण पौडेलले विगत चार वर्ष यता सुस्ताएको घर जग्गा कारोबार मेलामा पाएको उत्साहले फस्टाउने संकेत देखिएको बताउनु भयो । उहाँले मेलामा मानिसहरु चलहपहल बढेको र मेलामा थोरै सम्पति र आफ्नो जग्गामा पनि सुरक्षित आवास बनाउनसकिने देखिका जानकारी पाइने बताउनुभयो ।
उहाँले रकम कम भएका लगानी कर्ताहरुले काठमाडौं बाहिर पनि लगानी गर्नसक्ने वातावरण मेलामा रहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यका बाहिरबाट पनि स्टलहरु राखिएको र त्यसले पैसा कम भए थोरी लगानी उपत्यका बाहिर पनि गरिराख्न पाउने अवस्था रहेको बताउनुभयो ।
त्यस्तै, अवलोकन कर्ता नरेन्द्रबहादुर रेग्मी र रिता केसी पनि जानकारी लिनका लागि विभिन्न ठाउँ भौँतारिरहनुपर्ने बाध्यता मेलामा आएपछि नहुने बताउनुहुन्छ । उहाँहरुले मेलाबाट कुन ठाउँमा घरजग्गाको कारोबार कतिसम्म र कस्तो रहेछ भन्ने जानकारी पाउन सकिने बताउनुभयो । उहाँहरुले मेलामा आएपछि ब्रोकरबाट ठगिनुपर्ने बाध्यता नहुने र सिधै सम्बन्धित व्यक्तिहरुलाई भेट्न सकिने सुविधा रहेको बताउनुभयो ।
काभ्रेपलाञ्चोकबाट मेला अवलोकनका लागि आउनुभएका सुकुमान तामाङ आर्थिक मन्दीको बेलामा घरजग्गा व्यवसाय रहेकाले मेलाले आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले साना व्यवसायीहरुलाई पनि समेटेर आगामी दिनमा यस्ता मेलाहरु गर्दा झनै राम्रो हुने सुझाव दिनुभयो ।
त्यस्तै, अर्का अवलोकन कर्ता नवराज भण्डारी सबै एकै ठाउँमा बुझ्न पाउँदा सहज भएको बताउनु हुन्छ । विभिन्न ठाउँमा भौँतारिनुपर्ने समस्या मेलाबाट समाधान हुने बताउनुभयो । घरजग्गा मेलामा पुगनुभएका ७६ वर्षका सूर्यभक्त श्रेष्ठ मेलामा सबै थोक भएपनि सानो र खालि ठाउँ धेरै भएको घर आफूले नपाएको गुनासो गर्नुहुन्छ । अरु हिसावले भने सम्पूर्ण रुपमा मेला उपयोगी र फलदायी रहेको बताउनुभयो ।
८औं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आआफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामाग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी छन् । घरजग्गा मेलामा युवादेखि वृद्धवृद्धाहरुको पनि उल्लेख्य उपस्थित र आकर्षण रहेको छ । घरजग्गा मेला १५ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्