
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ ।
आइतवार काठमाडौंको टँुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले नेपालका मौलिक चाडपर्वहरुले नेपालीहरुका बीचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत हुने बताउनु भयो ।
उहाँले देशको विशेषता र मौलिकताको आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरुलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको पनि बताउनु भयो ।
सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो – ‘ल्होसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यसको ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरुलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रवद्र्धन गर्नुपर्दछ । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, नीति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गर्न अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र हाम्रो राष्ट्रिय पहिचान पनि हो । यही विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतिहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ ।’
उहाँले भन्नुभयो – ‘नेपाली समाजले विकास गरेका आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ । यस्ता मौलिक चाडपर्वहरुले नेपालीबिच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ । तसर्थ देशको विशेषता र मौलिकताको आत्मसातिकरण सहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’
प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताउनु भयो । उहाँले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरुको संगमस्थल भएको उल्लेख पनि गर्नुभयो । उहाँले सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रितिरिवाज र संस्कृतिहरु रहेको र सबै संस्कृतिहरुको समन्वयता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले टँुडिखेलमा तमू ल्होसार मनाएकाहरुलाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्र्देशनसमेत दिनुभयो । उहाँले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्