
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ ।
सोमबार मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताउनुभएको हो ।
गत शुक्रबार रोजगार अनुमति प्रणाली(ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनि गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाहरुको ज्यान समेत गएको थियो ।
सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रिय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताउनुभयो । उहाँले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भएपनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो ।
आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाई छ । मन्त्री ज्वालाले घटनाप्रति आफू दुःखी रहेको भन्दै दुःख पनि व्यक्त गर्नुभयो । उहाँले घटनामा आफूहरुको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूहरु नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरुको कमजोरीलाई आफूहरुतिर थोपरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्