
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताउनुभएको छ ।
सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताउनु भयो । उहाँले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताउनु भयो । घटनाको अन्तर्यमा अरु नै केही कुरा भएको उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अध्याँरो बाहेक केही नदेखाउनेहरु राष्ट्रवादी हुन नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरुको प्रशंसा गर्न नहिच्किचाउन सत्तारुढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई अपील गर्नुभयो । उहाँले तीन प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमती भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलका समकालिन नेताहरु कुनै न कुनै रुपमा विपी कोईरालाकै स्कुलिङबाट दिक्षित भएका बताउनुभयो । उहाँले विपि कोइरालालाई नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्वको रुपमा चित्रण पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्