
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाउनुभएको छ ।
सोमबार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो ।
प्रमुख सचेतक गिरीले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्तिप्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने ऐन ल्याएको आरोप लगाउनुभयो । उहाँले यस्तो ऐन संशोधनमा ल्याउनुआपत्ति र खेदजनक रहेको भन्दै सरकारलाई यस्तो सोच कहाँबाट आयो ? भन्दै प्रश्न गर्नुभयो ।
प्रमुख सचेतक गिरीले केही नेपाल ऐनलाई संशोधनका विषयमा समितिमा कुनै भाषाको संशोधन गर्न लागेको जस्तो गरी छलफल हुन नहुने बताउनुभयो । उहाँले केही नेपाल ऐनलाई संशोधनका लागि आएको विधेयकमा श्री ५ को सरकार भनेको ठाउँमा नेपाल सरकार लेखाउनको लागि यी ऐन संशोधन हुन नलागेको बताउनुभयो । उहाँले यसमा ६४ वटा भन्दा बढी ऐनहरु संशोधन आएको भन्दै गम्भिर रुपमा मन्त्रालयगत छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्