Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


सिन्धुलीमाडीमा फुड फेस्टिभल आयोजना गरिँदै


117
Shares

सिन्धुली । खानाका पारखीहरुलाई थप स्वाद दिलाउने उद्देश्यले सिन्धुलीमाडीमा फुड फेस्टिभल आयोजना गरिने भएको छ ।

सिन्धुलीमाढीको खुलामञ्चमा पुस २७ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने फुड फेस्टिभलको मूल उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र स्थानीय परिकार तथा उत्पादनको प्रचार प्रसार गर्ने रहेको आयोजकले जनाएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकासँगको समन्वयमा सिन्धुली पर्यटन, कृषि, व्यापार, उद्योग, साँस्कृतिक तथा फूड फेस्टिभल २०८० नाम दिइएको उक्त फेस्टिवल ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्ने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अस्विन थापा मगरले बताउनुभयो ।

दश दिनसम्म संचालन हुने फेस्टिभलमा स्थानीय कला संस्कृतिको जगेर्ना, मौलिक बाजा गाजा, स्थानीय उपभोग्य उत्पादित वस्तुको प्रदर्शन तथा बिक्री वितरण र नेपाली खानाको परिकारहरुको स्टलहरु रहने आयोजकले जनाएको छ ।

फेस्टिवलमा दैनिक उपभोग्यका सामग्री, खाद्यान्न तथा विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता चप्पलहरुको बिक्री वितरणका लागि २ सय स्टलहरु राखिने जनाइएको छ ।