९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री दाहाल


130
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपाल इन्जिनियरिङ एशोसिएशनले सो कलेज स्थापना गर्ने मागलाई विगत लामो समयदेखि उठाउँदै आएको उल्लेख गर्दै त्यसलाई स्थापना गर्ने कामलाई आफूले गाह्रो कामको रुपमा नलिएको पनि स्पष्ट पार्नुभयो । उहाँले कार्यक्रममा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाप्रति संकेत गर्दै सो मागका सम्बन्धमा आफूले सम्बन्धित मन्त्रीसँग कार्यक्रम स्थलमै छलफल गरेको पनि बताउनुभयो ।

इन्जिनियरहरुको क्षमता अभिवृद्धि, पेशागत विकास र उन्नयनका निम्ति छुट्टै कलेजको माग राख्नु स्वभाविक रहेको प्रधाममन्त्री दाहालको भनाई थियो । प्रधानमन्त्री दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत दोहो¥याउनुभयो । उहाँले मुलुकको समृद्धिका लागि गुणस्तरीय पूर्वाधार विकासमा जोड दिनुपर्ने भएकाले पनि त्यसमा इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने चुनौति सामना गर्न पनि सरकारले इन्जिनियर तथा प्राविधिकहरुको समुचित परिचालनमा जोड दिन चाहेको पनि प्रधानमन्त्री दाहालले बताउनु भयो ।

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासको ढोका खोल्न र दूरदराजमा रहेकाहरुको पनि आर्थिक विकासका लागि पूर्वाधार विकासको कामलाई तिब्रता दिनुपर्ने जरुरी रहेको बताउनु भयो ।