
काठमाडौं । आगामी फागुण २० गते पछि रिक्त हुने राष्ट्रिय सभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । पुष २३ गते हुने मनोनयनको तिथि नजिकिएसँगै दलहरु उम्मेदवार टुंगो लगाउने दौडमा छन् । तर पछिल्लो पटक विकसित राजनीतिक घटना क्रमले प्रमुख दलहरुले राष्ट्रियसभाका सिट भागवण्डा गर्ने संभावना प्रवल बनेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिनासहित २० सांसदको पदावधि फागुन २० गतेबाट सकिने छ । पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जनता समाजवादीका १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनित एमाले कोटाकी विमला राई पौड्याल छन् ।
पदावधी सकीनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सिटका लागि निर्वाचन गर्ने तयारी गरेको हो । विभिन्न क्लस्टरमा निर्वाचन गरिने छ । कोशी, मधेश र लुम्बिनीमा एक एक महिला र अन्य १ गरी २–२ पदमा चुनाव हुनेछ । यस्तै बागमतीमा एक महिला, दलित १, अपांगता भएका वा अल्पसंख्यकबाट १ गरी कूल चार पदमा चुनाव हुनेछ । गण्डकीमा महिला १, अल्पसंख्य १ र अन्य १ गरी ३ सिटका लागि चुनाव हुने छ भने कर्णालीमा महिला १, दलित १ र अन्य १ गरी ३ सिटमा चुनाव हुने छ । यस्तै, सुदूरपश्चिममा महिला १, अपांगता भएका वा अल्पसंख्यकबाट १ र अन्य १ गरी कूल तीन सिटमा चुनाव हुने छ ।
प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने यस निर्वाचमा सत्तारुढ गठबन्धनको मतभार सबै प्रदेशमा बढी रहेको छ । निर्वाचन आयोगले प्रदेशसभाका सदस्यहरूको मतभार ५३ र स्थानीय तहका मतदातको मतभार १९ कायम गरेको छ । कोशी प्रदेशमा एमालेको सवैभन्दा धेरै ४ हजार २ सय १० मत छ भने २० काँग्रसको ३ हजार ७ सय ३३ मत छ । कोशीमा माओवादीको एक हजार २ सय ७८ मत देखिन्छ भने राप्रपाको ३ सय ९४, नेकपा एसको ३ सय ४५ र जसपाको १ सय २९ मत छ ।
यस्तै, मधेश प्रदेशमा एमालेसँग २ हजार ३ सय २ मत रहेको छ भने काँग्रेससँग ३ हजार १ सय ४ मत छ । मधेशमा जसपाको १ हजार ८ सय १७ मतभार रहँदा जनमत पार्टीको ७ सय ४६, माओवादीको ८ सय १९ र लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ३३ मत छ । मधेशमा एकीकृत समाजवादीको मत ५ सय ८० छ भने नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पाटीको ५३ – ५३ मतभार छ ।
यता, बागमतीमा सवैभन्दा बढी मतभार रहेको कांग्रेससंग ३ हजार ९ सय ७४ मत छ भने एमालेसंग २ हजार ५सय ७१ मत छ । बागमतीमा माओवादीको २ हजार १ सय ९६, एकीकृत समाजवादीको ५ सय ४२, नेपाल मजदूर किसान पार्टीको १ सय ९७ र हाम्रो नेपाली पार्टीको १ सय मत छ ।
गण्डकीमा काँग्रेसको ३ हजार १ सय ७९ मतभार रहँदा एमालेको २ हजार ४ सय ५८ मत छ भने माओवादीको ९ सय ४१, नेकपा एसको ७२ र जनमोर्चाको ५७ मत छ । गण्डकीमा पनि गठबन्धनसँग एमालेको भन्दा १ हजार ३ सय १६ मत बढी छ । त्यसैगरी लुम्बीनीमा पनि सबैभन्दा धेरै मतभार रहेको काँग्रेसको ३ हजार १सय ७९ मत रहेको छ । त्यहाँ एमालेको २ हजार ८ सय १० मत रहेको छ भने राप्रपाको २ सय ६९, नागरिक उन्मुक्ति पार्टीको २ सय १२, लोसपा २ सय ६५, जनमत र जसपासँग क्रमशः १५९ मतभार छ ।
लुम्बिनीमा एकीकृत समाजवादीको मतभार ५३ मात्रै छ । उता, कर्णली प्रदेशमा काँग्रेसको १ हजार ८ सय ६३, माओवादीको १ हजार ६सय ५४ मतभार देखिन्छ । एमालेको १ हजार १ सय ४२, एकीकृत समाजवादीको २ सय ४३ र राप्रपाको ५३ मतभार छ ।
यस्तै सुदुरपश्चिममा कांग्रेसको २ हजार ६ सय ४१, माओवादीको १ हजार ५८ र एमालेको १ हजार ४ सय ८० मतभार छ । त्यहाँ नागरिक उन्मुक्ति पार्टीको ५ सय ४, एकीकृत समाजवादीको ३ सय ४ र राप्रपाको ५३ मतभार छ । प्रदेशगत मतभारलाई हेर्दा सत्तारुढ दलहरुका उम्मेदवारले जित्नै निश्चित छ ।
प्रमुख प्रतिपक्षी एमालेप्रति उदारता नदेखाउने हो भने राष्ट्रियसभाको यस निर्वाचनमा एमाले शून्य हुने अवस्था छ । तर सत्तारुढ दलहरुले राष्ट्रियसभामा एमालेलाई पनि भाग दिने गरी छलफल अघि बढाएका छन् । त्यसो भयो भने भागवण्डामा कुन दलले कति सिट पाउँछन् भन्ने अहिले नै भन्न सकिने अवस्था रहँदैन ।
कसको कति मत ?
प्रतिक्रिया दिनुहोस्