
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो ।
विदेशमन्त्री जयशंकरले ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेपछि १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग भेटेपछि विदेशमन्त्री जयशंकर सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुने कार्यक्रम छ । २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
विदेशमन्त्री जयशंकरले आजै पौने ४ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने समय तालिका रहेको छ । उहाँको टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारी रहने छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले र भारतको नेतृत्व जयशंकरले गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्