
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको जागिर जोगाइदिन आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरुको जागिर जोगाइदिन आग्रह गर्नुभएको हो ।
अध्यक्ष न्यौपानेले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई तत्कालिन समयमा लाइसेन्स बिना नियुक्त गरेको भएपनि अहिले आएर लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अहिले स्थानीय तहहरुले जबर्जस्त लाइसेन्स ल्याउन न नल्याएको खण्डमा बर्खास्ती समेत गर्ने धम्की दिन थालेकाले त्यस्ता शिक्षकहरुको जागिर जोगाइदिन नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गर्नुभयो ।
अध्यक्ष न्यौपानेले शिक्षकहरुको आत्महत्या गरेको खबर आउन सक्ने भन्दै यसतर्फ सचेत समेत गराउनुभयो । उहाँले शिक्षक महासंघले छुट लाइसेन्सको सम्बन्धमा सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि बताउनुभयो ।
त्यस्तै, बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनकि सहअध्यक्ष कल्पना पनेरुले स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुलाई नजिकबाट हेर्नुपर्ने बताउनुभयो । उहाँले माध्यामिक विद्यालयहरुलाई व्यवस्थित गर्न आग्रह समेत गर्नुभयो । उहाँले व्यक्ति हेरेर शिक्षक नियुक्ति गर्ने कारणले गर्दा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय कर्मचारीहरुलाई आन्तरिक रुपमा स्थायी प्रक्रियामा लगेर शिक्षक सरहको सेवा, सुविधा प्रदान गर्न माग गर्नुभयो ।
अध्यक्ष तिवारीले विद्यालय कर्मचारीहरु स्थानीय तहको मातहतमा जान पनि तयार रहेको उल्लेख गर्नुभयो । उहाँले संघ सरकारले दरबन्दी स्वीकृत गरे स्थानीय तहमा जान पनि सकिने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्