५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


खाद्यान्न मौज्दातमा मुलुक सहज अवस्थामा छैन : सचिव दुवाडी


286
Shares

काठमाडौं । आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यन्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको सरकारले बताएको छ ।

सरकारले गत वर्षको तुलनामा धान उत्पादन ५० प्रतिशत कमी हुने देखिएको भन्दै खाद्यन्न मौज्दातमा सहज अवस्थामा नहुने आँकलक गरेको हो ।

सरकारसँग बजारको मूल्य नियन्त्रण गर्ने गरी खाद्यन्न मौज्दात समेत नहुने अवस्था रहेको स्वीकार गरेको छ । खाद्यन्नको आन्तरिक उत्पादन र आयातका आधारमा १० प्रतिशत मौज्दात हुनुपर्नेमा १ प्रतिशत मात्रै पनि मौज्दात नरहने सरकारले जनाएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले यस्तो बताउनुभएको हो । उहाँले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन करिव ५० प्रतिशत कमी आउने कृषि मन्त्रालयबाट सूचना आएको बताउनुभयो । उहाँले मुलुकको आन्तरिक खाद्यन्न उत्पादनको हिसाव सहज अवस्थामा नभएको उल्लेख गर्नुभयो ।

सचिव दुवाडीले भण्डारणको व्यवस्थामा पनि सरकारले न्युनतम राख्नुपर्ने मौज्दात पूरा गर्ने क्रममा रहेको बताउनुभयो । उहाँले धान खरिदमा कतै कमजोरी भयो भने कम खरिद गर्नसक्ने अवस्था भए चामलबाट पूरा गर्नेगरी खाद्य संस्थानले चामल खरिदको लागि टेण्डर आह्वान गरिसकेको बताउनुभयो ।

सचिव दुवाडीले सरकारले बजारको खाद्यन्नको आपूर्ति श्रृंखला बिग्रन नदिने गरी सप्लाई गरिहेको दाबी गर्नुभयो । उहाँले मुलुकको आन्तरिक उत्पादनले बजारको माग धान्न सक्ने अवस्था नभएको दाबी गर्नुभयो । खाद्य कम्पनीले खरिद गर्ने धान र चामलको हिंसा पनि बजारको माग पूरा गर्नसक्ने परिणाममा नभएको उहाँको भनाई छ ।

सचिव दुवाडीले उत्पादन र मागको आधारमा करिव १ प्रतिशतको हाराहारीमा मात्रै धान वा चामलको मौज्दात सरकारसँग रहने अवस्था रहेको बताउनुभयो । उहाँले सरकारसँग १० प्रतिशतको हाराहारीमा मौज्दात राख्न नसके बजारको आपूर्ति र मूल्यवृद्धि नियन्त्रण गर्नसक्ने अवस्था नहुने बताउनुभयो । त्यसैले अहिले सरकार खाद्यान्नको स्टक बढाउने र बजारको मूल्यलाई नियन्त्रण गर्नेगरी क्रियाशिल भएर काम गरिरहेको बताउनुभयो ।

खाद्य संस्थान तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले ४६ हजार क्विन्टल धान खरिदको तयारी गरेको बताउनुभयो । उहाँले लक्ष्यअनुसार कम्पनीले धान खरिद गर्न नसक्ने अवस्था देखिएकाले २ लाख ९१ हजार क्वीन्टल (२९१०० मेट्रिक टन) चामल खरिदका लागि टेण्डर आह्वान गरिसकेको बताउनुभयो । उहाँले भारत सरकारबाट नेपाललाई प्राप्त भएको ९५ हजार मेट्रिक टन चामल आयात कोटामध्ये कम्पनीले आफ्नै आर्थिक स्रोतबाट २० हजार मेट्रिक टन र सरकारको आर्थिक सहयोग भएमा थप २० हजार मेट्रिक टन चामल खरिद गर्ने गरी आवश्यक पहल थालेको बताउनुभयो ।

उहाँले भारत सरकारले नेपालमा चामल निर्यात गर्न स्वीकृत गरेको एजेन्सीले मूल्यको विषयमा विवरण नपठाउँदा चामल खरिदमा ढिलाई भइरहेको बताउनुभयो ।