१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अलैँचीको मूल्यमा वृद्धि


2.236k
Shares

इलाम । अलैँचीको मूल्यमा वृद्धि भएपछि इलामका कृषक खुशी भएका छन् । गत वर्षभन्दा झण्डै तीन गुणा बढी मूल्यमा अलैँची बिक्री हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् ।

गत वर्ष यो मौसममा अलैँचीको मूल्य प्रतिमन २८ हजार रुपैयाँ थियो, भने अहिले राम्रो अलैँची प्रतिमन ८५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको तर कृषक तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष अलैँचीको मूल्य बढेको उनीहरु बताउँछन् । रोगले सखाप बन्दै गएको अलैँचीलाई कृषकले आधुनिक खेती प्रणाली अपनाएर पुरानै अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् ।

आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार आएको उनीहरुको भनाइ छ । अधिकांश कृषकले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले अलैँची उत्पादनमा ह्रास आएको थियो ।

इलाममा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले बढी भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको बताइएको छ । गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आर्थिक वर्षमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको हो ।