२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस् : सभामुख घिमिरे


234
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको १६ औं साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भएपनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताउनुभयो । उहाँले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्नेकुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभव नपरेको बताउनुभयो ।

सभामुख घिमिरेले सहकारी क्षेत्र वचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुनु नहुने जिकिर गर्नुभयो । उहाँले कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँजो जमिनलाई उर्वर बनाउने कुन ठाउँमा के कुरा उत्पादन गर्ने ? यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म कृषिलाई यान्त्रीकरणबाट अघि बढाउने बारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो ।

सभामुख घिमिरेले सरकारले किसानहरुलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रुपमा काम गर्दै जानुपर्ने बताउनुभयो । उहाँले सहकारी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरुलाई एक ठाउँमा ल्याइ काम गर्न आग्रह गर्नुभयो ।