७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नवलपरासीमा शीतलहरले जनजीवन कष्टकर


130
Shares

नवलपरासी । १० दिनदेखि नवलपरासीमा बाक्लो हुस्सुसँगै शीतलहर बढेको छ ।

शीतलहरका कारण सबैभन्दा बढी विपन्न समुदायको जनजीवन कष्टकर बनेको छ । शीतलहरले जनजीवन कष्टकर बनेपनि जिल्लाका अधिकांश स्थानीय तहहरुले त्यसको पूर्वतयारी समेत गरेका छैनन् ।

बिगतका वर्षहरुमा शीतलहरको बेला दाउरा र न्यानो कपडा वितरणहुँदै आएपनि यसवर्ष स्थानीय तहहरुले अहिलेसम्म त्यसको व्यवस्था गरेको छैन । दाउरा वितरण नगरेपछि वन पैदावरबाट टाढा रहेका जिल्लाका दक्षिणभेगका स्थानीयहरु भुस र गुइँठा बालेर ताप्न बाध्य छन् ।

शीतलहरले पशुचौपाय र बालीनालीमा समेत असर पुगेको छ । सडकमा हिड्ने पैदलयात्री पनि कम देखिन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून देखिन थालेको छ । विपद् व्यवस्थापनका लागि भन्दै हरेक पालिकाले प्रत्येक वर्ष १४ देखि ६६ लाखसम्म कोषमा रकम विनियोजन गर्दै आएका छ ।

विनियोजित रकमबाट आवश्यक सामग्री खरिद गरी पूर्वतयारीका कार्यक्रम गर्न जिल्लाका स्थानीय तह चुकेको भन्दै आलोचना हुन थालेको छ । जिल्लाका स्थानीय तहहरुसँग विपद्ले कति जनसंख्या प्रभावित छन्् भन्नेसमेत यकिन तथ्यांक छैन । पालिकाले विपन्नको तथ्यांक दिन नसकेपछि जिल्ला विपद् व्यवस्थापन समितिले पालिकाको कुल जनसंख्यालाई आधार मानेर त्यसको २५ प्रतिशत विपन्न समुदाय हुन सक्ने अनुमानको तथ्यांक निकालेको छ ।

्जिल्ला विपद् व्यवस्थापन समितिले दाउरा र न्यानो कपडा वितरणका लागि प्रहरी र रेडक्रससँग समन्वय गरेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी गराउनुभयो ।