
धनुषा । तीन महिनाको छोरा राकेशलाई काखमा च्यापेर सुजिता धनुषाको लगमाबाट तीन घन्टा पैदल हिँडेर कमलाको भत्केको पुलको छायामा सुस्ताउँदै थिइन्। हिँडेर गलिसकेकी उनी भन्दै थिइन्, ‘यो देशमा मनलाग्दी गर्न छुट छ!’
१२ वर्ष लगाएर बनाइएको कमला नदीको पुल पानीको सामान्य बहावले भत्किएपछि स्थानीयलाई सास्ती भएको छ।
‘पुल भत्किनुको कारण पत्ता लगाइयो? यो पुल बनाउनेमाथि कुनै कारबाही भयो? मैले त सुनेको छैन,’ छोराको शरीर बाक्लो सलले छोप्दै सुजिताले भनिन्, ‘भएको छ भने मलाई बताइदिनुस्।
पुल बनिदिएको भए गाडी चढेर ३० मिनेटमै सिरहा पुग्थें । काम सकेर एक दिनमै फर्किन्थेँ तर यो पुल नबन्दा म मात्र नभई मजस्ता कैयौं मानिसको दैनिकी कष्टकर बनेको छ। हाम्रो पीडामा मलम लगाइदिने कोही भएन। सरकार जनताको दुःखमा मलम लगाउँछ भनेर सुनेकी थिएँ, झुट रहेछ।’
भत्केको पक्की पुलभन्दा लक्षिततर्फ स्थानीय युवाले बाँसको अस्थायी पुल बनाइदिएका छन्। यो पुलमाथिबाट पैदल यात्रु र मोटरसाइकल कमला नदी तर्छन्।
धनुषा सगहाराकी सकिना खातुन दुखेसो पोख्छिन्, ‘सुक्खा याममा त बाँसको पुलबाट काम चलिहाल्छ तर वर्षायाममा भने हामी गाउँमै घेरिन्छौं। वर्षौंदेखि अलपत्र कमला पुल बनिदिए हाम्रो यात्रा सुरक्षित हुन्थ्यो।’
१२ वर्ष लगाएर निर्माण गरिएको कमला पुल २०७८ असारमा कमला नदीमा आएको भेलले भत्कायो। यो पक्की पुल सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधबीच ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २४ करोड ६२ लाख रूपैयाँमा ठेक्कासम्झौता गरेको थियो।
२०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको थियो। तर दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म समय लम्ब्याइयो। ठेकेदारको लापर्बाहीका कारण पुल पूरा हुन नसकेपछि पुनः म्याद थपेर २०७८ असार १३ सम्म पु¥याइयो। पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।
त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण कमला नदीमा आएको सामान्य भेलले भासिएको यो पुलको पुनर्निर्माणको अन्योलबीच २०७९ फागुन १५ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री एवं हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ दलबलसहित यहाँ आएर चाँडै पुल बनिसक्ने आश्वासन दिएर फर्केका थिए।
उनी फर्केपछि सुस्त गतिमा काम त सुरु भयो तर कामको निरन्तरता भएन। कामको गति हेर्दा पुल चाँडै बनिहाल्ने विश्वास स्थानीयलाई छैन।
अहिले लुम्बिनी बिल्डर्सले आफ्नै खर्चमा सो पुलको पुनर्निर्माण गरिरहेको छ। चालु आवभित्र पुल पुनर्निर्माण सक्ने गरी काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरको भनाइ छ।
आगामी असारसम्ममा पुलको काम सम्पन्न हुने लक्ष्य लिइए पनि गति हेर्दा लक्ष्य पूरा हुने देखिँदैन, सिरहाका बुद्धिजीवी देवकुमार यादव भन्छन्,’ कमलामा पुल नबन्दा हजारौं सर्वसाधारणको दैनिकी सास्तीले भरिएको छ।’
जोखिम मोलेर बाँसको अस्थायी पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य छन्। यसले यस क्षेत्रको आर्थिक समुन्नति र विकासलाई समेत थामिएको यादव बताउँछन्।
निर्माणाधीन झोलुंगे पुलले यस भेगका जनतामा आशाको नयाँ पालुवा पलाएको छ। मोटरसाइकल र पैदल यात्रीका लागि यो पुलले सहजता प्रदान गरे पनि ठूला सावारीसाधनका लागि पक्की पुलको विकल्प छैन।
कहालीलाग्दो समृद्धि सपना
राणाकालदेखि चर्चामा आएको हुलाकी राजमार्ग पटकपटक शिलान्यास हुँदै सेलाउँदै गयो। १९०३ सालदेखि २००८ सम्म पटकपटक शिलान्यास भयो। पटकपटक शिलान्यास र निर्माण थालनी भए पनि बीचबीचमा रोकिएको विगत छ। त्यही विगतले हुलाकी राजमार्गको मधेसी सपनालाई अहिलेसम्म पछ्याइरहेको छ।
पूर्व–पश्चिम हुलाकी सडक ९ सय ७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित १ हजार ७ सय ९२ किमि सडक स्तरोन्नति ४७ अर्ब २४ करोड रूपैयाँ बजेट विनियोजन गरेर सुरुवात भयो। तर निर्माणको कामले गति लिन सकेन।
कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वछन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का लिएको लामो समय भएको छ।
११ मिटर चौडा यो हुलाकी राजमार्ग निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको थियो। १ अर्ब २० करोड २० लाख रूपैयाँमा करिब ३० किमि हुलाकी राजमार्ग निर्माणका लागि तोकिएको ३६ महिने समय पूरा गर्दा पनि सम्पन्न भएन। सरकारले २०७८ असार मसान्तसम्म काम पूरा गर्नेगरी फेरि समय थप ग¥यो। तर अहिलेसम्म काम पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।
‘बुबाहरूले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउनु हुन्थ्यो,’ धनुषा खुजुरी महुवाका रहिम कबारी भन्छन्, ‘तर हुलाकी राजमार्ग भएर कमला नदीमाथिको पुल तर्ने बुबाको सपना पूरा भएन। मेरो सपना पूरा हुन्छ भने आशा थियो तर त्यो पनि त्यत्तिकै सेलाउने हो कि?’ कबारी विगत सम्झँदै भन्छन्।
हुलाकी सडकको सुरुवातपूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो।
मधेसका जिल्ला जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम ९७५ किमि फैलिएको छ। यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिका ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७९२ किमि पुगेको छ। समृद्धिको सम्भावना नेपालको कुल क्षेत्रफलको २१ प्रतिशत भूभाग ओगटेको मधेसलाई अन्नको भण्डार भनिन्छ। यहाँको उत्पादनले मुलुकलाई पाल्न सक्ने बताइन्छ।
नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेस प्रदेशमा रहेको छ। यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन (२८.६८ प्रतिशत) रहेको देखिन्छ।
देशको कुल क्षेत्रफलको तुलनामा यो प्रदेशमा खेती नभएको जमिन १२.२६ प्रतिशत छ। यहाँको एक तिहाइभन्दा कम जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको तथ्यांकले देखाउँछ।
६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहरहरू यसै क्षेत्रमा छ। स्रोतसाधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचाकांकमा पछाडि परेको अर्थात् गरिब छ।
पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ। मधेसमा उर्वर जमिन छ, जलको समुचित व्यवस्था छैन। उत्पादन छ, बजारसम्म सहज पहुँच छैन। उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पु¥याउन सके मधेसको समृद्धि मधेसी आफैंले सम्भव बनाउन सक्छ।
झोलुंगेले जगाएको आशा
सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु भएपछि यस भेगका जनतामा आशाको सञ्चार भएको छ।
सिराहा नगरपालिका–१३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झोलुंगे पुल निर्माण सुरु भएको हो।
सपना–उमा–थानी जेभी बत्तीसपुतलीले ३४ करोड रूपैयाँमा गत असार १५ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र अर्थात् २०८१ असार ३१ सम्म निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले माघकै दोस्रो सतासम्म निर्माण कार्य सम्पन्न गरिसक्ने भोलेन्टियर इन्जिनियर विनोद मण्डलले जानकारी दिए।
निर्माणाधीन यो एक हजार पाँच ५०१ मिटर लामो र १.४ मिटर चौडा झोलुंगे पुललाई देशकै सबैभन्दा लामो झोलुंगे पुल भनेर दाबी गरिएको छ। इन्जिनियर मण्डलका अनुसार देशभरमा यो नै सबैभन्दा लामो झोलुंगे पुल हो।
यो झोलुंगे पुलको निर्माणले सिरहा–धनुषालाई आवागमनमा मात्र जोड्दैन। आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिकलगायत काम पनि सहज बनाउने इन्जिनियर मण्डलले बताए। (साभार : नागरिक दैनिक)
प्रतिक्रिया दिनुहोस्