
काठमाडौं । जलवायु परिवर्तनले किशोरीहरुको जीवनमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
जलवायु परिवर्तनले किशोरीहरुमा पारेको असर सम्बन्धमा नेपालसहित अस्ट्रेलिया र इण्डोनेसियामा अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
३० जना अध्ययन कर्ता किशोरीहरुले अनुसन्धान गरी तयार पारिएको ‘फर आवर फ्युचर्सः युथ भ्वाइस अन क्लाइमेट जस्टिस एण्ड एजुकशेन’ लाई प्लान इन्टरनेसनले काठमाडौंमा सार्वजनिक गरेको हो ।
अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनले विकसित देश अस्टे«लियाका किशोरीमा पारेको असर र विकासोन्मुख देश नेपाल र इण्डोनेसियाका किशोरीहरुमा पारेको असरलाई तुलना पनि गरिएको छ ।
तीन वटै मुलुकका १०÷१० जना किशोरीहरु संलग्न रहेको अध्ययनमा सबै वर्ग तहसहित बढी जोखिमयुक्त क्षेत्रका १ सय ५२ जना नेपाली किशोरीसहित ५ सय जना किशोर किशोरीलाई सहभागी गराइएको थियो ।
अध्ययनले जलवायु परिवर्तनका कारण किशोरीहरुको शिक्षा, स्वास्थ्य र खानपानमा असर परेको देखाएको छ । शिक्षामा परेको प्रभावले दीर्घकालिन रुपमा रोजगारीसँग जोडिएर भविष्यमा नै ठूलो प्रभाव पार्ने अध्ययनमा देखाइएको छ । यस्तै रोजगारीकै समस्याका कारण पनि किशोरीहरुमा थप मानसिक समस्या निम्त्याउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
प्लान इन्टरनेशनल नेपालका क्याम्पेन प्रमुख लक्ष्मी चौधरीले पिछडिएका क्षेत्रमा अभिभावकहरुले जलवायुजन्य विपद्लाई बहाना बनाएर छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने गरेको पाइएको बताउनु भयो ।
प्रमुख चौधरीले भन्नुभयो, ‘……..यसमा जलवायु परिवर्तनको असर विकसित र विकासोन्मुख देशमा के फरक छ ? भन्ने पनि छ । यो रिसर्च किशोरीहरुले आफैँ नै गर्नुभएको हो । नेपालबाट यसमा १५२ जना सहभागी हुनुभएको थियो । ‘क्लाइमेट परिवर्तनले मलाई असर गरिरहेकोे छ, मैले लिने गुणस्तरीय शिक्षामा प्रभाव परिहरेको छ र मैले भविष्यमा कस्तो रोजगारी पाउनसक्छु भन्नेकुरा पनि शिक्षामै आधारित भएको कारणले र शिक्षा जलवायु परिवर्तनका कारण बिग्रिरहेको छ त्यसकारणले म चिन्तित छु भनेर ९८ प्रतिशतले भन्नुभएको छ । नेपालको एक अध्ययनले पनि १२ महिनामा यो जलवायु परिवर्तनका कारण करिव ३ महिनाको शिक्षा अवरोध हुन्छ भनेको छ । जलवायु परिवर्तनले असर नगर्ने नेपाल कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।’
अध्ययनमा सहभागी ९८ प्रतिशत किशोरीहरुले जलवायु परिवर्तनले आफूहरुको शिक्षामा बढी असर परेको बताएका छन् ।
यसैबीच अध्ययनमा संलग्न किशोरीहरुले पेन्टिङको माध्यमबाट आफूहरुमा परेको असरबारे उजागर गरेका छन् । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनीहरुले गरेको पेन्टिङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।
अध्ययन कर्ता बाँकेकी रहिमान खानले जलवायु परिवर्तनका कारण किशोरीहरुमा परेको असरलाई पेन्टिङका माध्यमबाट देखाइएको बताउनु भयो । उहाँले समाजमा छोरीलाई शिक्षाको अधिकारबाट वञ्चित गराउने प्रयास जारी रहेको बेलामा जलवायुजन्य विपद्ले अभिभावकलाई झनै विद्यालय नपठाउने बहाना मिलेको बताउनु भयो ।
खानले भन्नुभयो, ‘……. हाम्रो समाजमा एक त छोरीलाई विद्यालय नपठाउने प्रचलन त्यो माथि बुबाआमाहरुलाई भूकम्प लगायत, वर्षा, बाढीका कारण विद्यालय नपठाउने बहाना हुन्छ । त्यो नै हामीले देखाउन खोजेका छौँ । क्लाइमेट राम्रो भयो भने हामीले हाम्रो समाजमा पनि राम्रो साथ र सहयोग पाउँछौँ ।’
त्यस्तै अर्की अध्ययनकर्ता सुस्मिता यादवले जलवायु परिवर्तनका कारण निम्तने विशेष अवस्थाबाट किशोरीहरुमा परेको मानसिक असरलाई आफूले चित्रमा उतारेको बताउनु भयो । अध्ययनमा बाँके, बर्दिया, सिन्धुली, मकवानपुर, लगायतका किशोरीहरु सहभागी थिए ।
अध्ययन प्रतिवेदनले १० देखि २४ वर्षका किशोरीहरूको शिक्षामा जलवायु परिवर्तनको प्रभावलाई उजागर गरेको छ । युवा अनुसन्धानकर्ताहरूले जलवायु संकटबाट प्रभावित किशोर किशोरीको ९६ तस्बिर, ग्राफिक्स र भिडियो सङ्कलन गरेका छन् । तीमध्ये ५५ तस्बिर नेपालका छन् ।
प्रतिक्रिया दिनुहोस्