४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग


728
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै सभापति राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो ।

सभापति राणाले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताउनुभयो । उहाँले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताउनुभयो ।

सभापति राणाले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको बताउनुभयो । विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताउनुभयो । उहाँले बालविवाह,महिला हिंसा,बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने बताउनुभयो ।

सभापति राणाले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताउनुभयो । उहाँले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखिकरण दिनुपर्ने बताउनुभयो ।