
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा गएर अड्किएको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।
सभापति लामिछानेले अड्किएको विषयमा छलफल गरेर टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री को हुन्छ भनेर पात्रलाई लिएर छलफल गर्ने हो भने निर्णय अर्कै हुने तर अनुहार नहेर्ने भए कानून बनाउन सजिलो हुने बताउनुभयो । उहाँलै आफूहरु कानून निर्माणको बहस गर्न खुला रहेको बताउनुभयो ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसा बडूले सरकारले ल्याएको संशोधन विधेयकले अहिलेको गाँठो फुकाउने दाबी गर्नुभयो । उहाँले विगतको विधेयकले काम नगर्दा नै सरकारले अहिले संशोधनको बाटो खोजेको बताउनुभयो । उहाँले परिषद् नै निष्क्रिय जस्तै बन्ने, अनिर्णयमा बस्ने बाटो फुकाउन सरकारले संशोधन विधेयक ल्याएको बताउनुभयो ।
सांसद बडूले सम्पूर्ण सदस्यको बहुमत भन्ने बित्तिकै कहिले कहीँ अध्यक्षले राखेको प्रश्ताव पनि निर्णय नहुने स्थिति बन्ने गरेकाले यो विधेयक ल्याउनुपरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्