२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


स्काउटलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्नेमा जोड


52
Shares

काठमाडौं । स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल स्काउटले आयोजना गरेको सुझाव संकलन गोष्ठीमा बोल्दै स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले स्काउटमा राजनीतिक हस्तक्षेप भएमा स्काउटको लक्ष्य प्राप्तिमा अवरोध सिर्जना हुने भन्दै राजनीतिक हस्तक्षेप हुन दिनु नहुने बताए । स्काउटको नयाँ नेतृत्व चयन चुनावी प्रक्रियाबाट निष्पक्ष रुपमा हुुनुपर्ने उनीहरुको भनाई छ ।

गोष्ठीमा बोल्दै स्काउटकर्मी रविना पौडेलले स्काउटमा कुनैपनि राजनीतिक हस्तक्षेप हुनु नहुने धारणा राख्नुभयो । उहाँले स्काउटलाई राजनीतिक सहयोग भने आवश्यक भएको बताउनुभयो । उहाँले स्काउटको प्रमुख आयुक्त मनोनित गर्ने व्यवस्थामाथि पनि पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

स्काउटकर्मी तरुणरत्न दत्तले स्काउटको जिल्ला समन्वय समितिको संरचना बनाउनुपर्ने बताउनुभयो । उहाँले वर्तमान स्काउटको कार्यसमितिको म्याद सकिइसकेको उल्लेख गर्दै नेपाल स्काउट ऐन २०५०(संशोधित) अनुरुप निर्वाचन गर्न नमिल्ने बताउनुभयो । उहाँले वर्तमान समितिले निर्वाचन गर्न पाउने कि नपाउने भन्ने विषयमा पनि प्रश्नचिन्ह रहेको उल्लेख गर्नुभयो ।

अर्का स्काउटकर्मी सन्तोषकुमार थापाले कुनैपनि बाहानामा स्काउटको आगामी निर्वाचन रोकिनु नहुने बताउनुभयो । उहाँले एकथरी मानिसहरु निर्वाचन रोक्न लागि परेका भन्दै निर्वाचन हुनैपर्ने बताउनुभयो । उहाँले स्काउटमा राजनीतिक मान्छे आउनु नहुने पनि बताउनुभयो । उहाँले सबै कामहरु ऐनमा टेकेर मात्रै गर्नुपर्ने सुझाव दिनुभयो ।

स्काउटकर्मी कुमार कोईरालाले स्काउटमा निर्वाचनको खाँचो रहेको बताउनुभयो । उहाँले स्काउटमा लामो समयसम्म विवाद भइरहँदा विद्यालय तथा अभिभावकहरुमा समेत नकारात्मक असर परिरहेका बताउनुभयो । स्काउटले चाँडोभन्दा चाँडो निकास पाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल स्काउटमा एकलाई हटाएर अर्को आउने सिलसिलाको अन्त्य गर्न निर्वाचनको विकल्प नभएको उहाँको भनाई छ ।