१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गरेनन् : मन्त्री गुरुङ


169
Shares

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ ।

शनिबार डिप्लोमा इन्जिनियर्स एशोसिएशनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

मन्त्री गुरुङले शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी भवन संहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाएको भएपनि प्रभावकारी ढंगले लागू हुन नसकेको बताउनुभयो । उहाँले आफूले कारण खोज्दा पालिकाहरुमा प्राविधिकको कमीका कारण स्थानीय तहले कार्यान्वयन गर्न नसकेको जवाफ दिएको बताउनुभयो ।

मन्त्री गुरुङले सकारले बनाएका नीति नियम कार्यान्वयन गर्न पनि कुनै न कुनै रुपमा बेस बसाउन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले बनाएका अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन र अभिलेखीकरण गर्न नसके द्रुत गतिमा फड्को भनेर अघि बढाइएका कामहरु प्रभावकारी बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाएर त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री गुरुङले सडक पूर्वाधारका खाका प्राविधिक आधारमा नभइ मनोचाहनाका आधारमा बनाउँदा विपत्ति निम्तिने गरेको बतउनुभयो ।