
काठमाडौं । माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।
काठमाडौंका तरकारी बजारमा अहिले विभिन्न थरीका तरुल बिक्री वितरण भइरहेको छ ।
काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्भाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुलहरु पनि काठमाडौंमा माघे संक्रान्तीका लागि बिक्री हुने गर्दछन् ।
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ ।
माघे सक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाने चलन छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज तरुल ६० देखि ७० रुपैँया प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैँया प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैँया प्रतिकेजीमा बिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्