७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आलमको मुद्दामा आज अन्तिम सुनुवाइका लागि पेसी


273
Shares

काठमाडौं । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ ।

बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतले पेसी तोकेको हो । यस मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए ।

१८ कात्तिक २०७६ सालमा रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् ।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका बेला रौतहटको साविक राजपुर फरहदवा गाबिस–४ मा निर्वाचन जित्न बिस्फोटक पदार्थ संकलन गरी राखेको अवस्थामा विस्फोट हुँदा बम बनाउँदै गरेका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।

नाम नखुलेका एक जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र २० भन्दा बढीलाई इँटाभट्टामा खसालेर जलाएको अभियोग आलममाथि छ ।