१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्थिक मन्दीले सञ्चार गृहहरु कठिन अवस्थाबाट बाहिर निस्कन समय लाग्छ : ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष मानन्धर


312
Shares

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलले आज २७औं वार्षिकोत्सव मनाएको छ ।

२७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको अवसरमा कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले भूकम्प जस्तो प्राकृतिक प्रहारबाट तंग्रिने क्रममा रहेको बेला कोरोनाको महामारी आएको र त्यसले विश्वव्यापी रुपमा पारेको प्रभाव नेपाली मिडिया क्षेत्रमा पनि परेको बताउनुभयो । कोरोना महामारीले ल्याएको आर्थिक मन्दीले ईमेज मात्रै नभई देशभरका सञ्चार गृहहरुको कठिनाई बढाएको भन्दै मानन्धरले यसबाट बाहिर निस्कन समय लाग्ने देखिएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले २७ वर्षको अवधिमा ईमेज च्यानलले हासिल गरेको उपलब्धीप्रति गौरव गर्दै आगामी दिनमा के के गर्न सकिन्छ त्यसलाई मनन गर्नु आवश्य रहेको बताउनुभयो । पछिल्लो समय प्रविधिको विकाससँगै थुप्रै चुनौतीहरु आमसञ्चार क्षेत्रमा थपएिको भन्दै उहाँले ईतिहासमा आफूलाई प्रमाणित गरेको यस संस्थाले भावी दिनमा पनि नयाँ चुनौतिहरुको सामना गर्दै आफूलाई अब्बल प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा संस्थाको २७ वर्षे यात्रा समेटेर तयार पारिएको बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । नेपाल टेलिभिनजको पर्दामा बिहान ९० मिनेटको समय किनेर प्रसारण आरम्भ गरेको ईमेज च्यानल अहिले श्रव्य, दृष्य र डिजिटल मिडियामा अग्रणी सञ्चारगृह बन्न सफल भएको छ ।