
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिनुभएको छ ।
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै सांसद सुवालले यस्तो बताउनुभएको हो ।
सांसद सुवालले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्याएको बताउनुभएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो । उहाँले अघिल्लो सरकारहरुले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताउनुभयो । उहाँले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिनुभयो । उहाँले नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाएको उहाँको आरोप छ ।
सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताउनुभयो । उहाँले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिनुभयो । उहाँले हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको बताउनुभयो । उहाँले अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरेपनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताउनुभयो ।
हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताउनुभयो । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेपनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी दिनुभयो ।
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो ।
प्रतिक्रिया दिनुहोस्