२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


केन्द्रिय अस्पतालका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल


299
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रिय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरुले गरेको प्रस्ताव स्विकृत नभए ५ सय शैय्यामा केन्द्रिय अस्पतालहरु बन्द हुने अवस्था रहेको समेत स्पष्ट पार्नुभयो । हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने सचिव पोखरेलको भनाई थियो ।

सचिव पोखरेलले सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरुसँग आग्रह गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताउनुभयो । त्यसैगरी अस्पतालहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिएपनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

बैठकमा बोल्दै सांसदहरुले रोग लाग्नै नदिने गरी जनचेतनामुलक कार्यक्रम सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री डा. विमला पौडेल (राई) ले जनचेतनामुलक कार्यक्रममा ध्यान दिएर निरोगी नेपाल बनाउने अभियानमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साह (गरिमा) ले जिल्लामा रहेका सरकारी अस्पतालहरु बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशील नभएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले प्रादेशिक स्तरमा रहेका आयुर्वेद अस्पतालहरुबाट जनताले सेवा लिन नपाएकोतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद साहले जनताले सेवा नपाउने अस्पतालहरुमाथि सरकारले कडा निगरानी राख्नुपर्ने बताउनुभयो ।