२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


हरिपुर्वामा निर्माण सम्पन्न भएको अस्पताल भवन अलपत्र


403
Shares

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा निर्माण भएको पन्ध्र शैयाको अस्पताल भवन प्रयोगमा नल्याउँदा अलपत्र परेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले २०६९ जेठ २ गते शिलान्यास गर्नुभएको यो अस्पतालको डेढ वर्षअघि निर्माण कार्य सम्पन्न भएको थियो ।

नगरपालिकाका जनप्रतिनिधिबीच बढ्दो टकराबले गर्दा हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधा सम्पन्न अस्पताल भवन सञ्चालनमा आउन नसकेको हो ।

१० वर्ष लगाएर निर्माण भएको अस्पताल भवन सञ्चालनमा नआउँदा स्थानीय निराश भएका छन् । हरिपुर्वा नगरपालिका–२ का बेचु साहले आफ्नै ठाउँमा पन्ध्र शैयाको अस्पताल निर्माण भएपनि सामान्य बिरामी पर्दा समेत उपचारका लागि मलङ्गवा, जनकपुर वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

गाउँमै यति ठूलो अस्पताल भवन बने पनि सञ्चालन गर्न जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयको दुखेसो छ । अस्पताल भवन निर्माणका लागि हरिपुर्वा नगरपालिका–२ का स्थानीय विनोद साहले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । निर्माण भएको अस्पताल भवन अहिले अलपत्र परेपछि स्थानीयले सास्ती खेपिरहेको उहाँले बताउनुभयो ।

जग्गादाता साहले यो अस्पतालप्रति यसै क्षेत्रका निर्वाचित सङ्घीय सांसद समेत रहनुभएका खानेपानी मन्त्री महिन्द्र राय यादव सकारात्मक नभएको आरोप लगाउनुभयो । राजनीतिक खिचातानीका कारण अस्पताल यसरी अलपत्र परेको साहको भनाइ छ ।

हरिपुर्वा नगरपालिकाका प्रमुख विनोद कुमार साह तेलीले अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष २०७९÷०८० मै एक करोड रुपियाँ बजेट विनियोजना गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेलाई दुव्र्यवहार गरेको बताउनुभयो ।

उहाँले चालू आर्थिक वर्ष २०८०÷०८१ मा नगर सभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुभयो । नगरप्रमुख साहले नगरपालिकामा बजेट सञ्चालन हुनासाथ अस्पताल भवन प्रयोगमा ल्याउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नभएर नगरसभा गर्न नपाएकै कारण अस्पताल अलपत्र परेको उहाँको भनाइ छ ।