
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेश टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लव खेल्ने भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप काठमाडौंमा हुँदैछ ।
यस पटक भुटान र भारतका क्लवले पनि खेल्ने आयोजकले जनाएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नकआउटका आधारमा हुने प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिताका खेलहरू च्यासल, र दशरथ रंगशाला हुने भएको छ । सेमिफाइनलसम्म च्यासल रंगशालामा हुने छ भने फाइनल खेल दशरथ रंगशालामा खेलाइने भएको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । म्यान अफ दी म्याचले १५ हजार र हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । गत वर्ष सम्पन्न पहिलो संस्करणमा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्