४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


सिन्धुलीको कमलामाई मेलामा भक्तजनको घुइँचो


312
Shares

सिन्धुली । माघ महिना लागेसँगै सिन्धुलीको कमला र गौमती नदीको संगमस्थलमा रहेको कमलामाई मन्दिरमा दर्शन गरी मेला भर्नेहरुको भीड बढेको छ ।

आपत विपत परेका बेला कमलामाईलाई भाकेको भाकल बुझाउन आउने श्रद्धालु भक्तजनको भीड लागेको हो । भाकल बुझाउन आएका भक्तजनले कमलामाईको पुजा गरी बलि चढाउने गर्दछन् ।

माघे संक्रान्तिका दिनदेखि कमलामाईको पुजा गरी मेला भर्नेहरुको संख्या एक लाखभन्दा बढी पुगेको कमलामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले बताउनु भयो ।

कमलामाईको दुई मन्दिरमध्ये माईशिरमा समेत माघ लागेसंँगै पुजा गर्न तथा भाकल बुझाउन भक्तजनहरु बोका, पाठी, परेवा, हाँस, कुखुरा लिएर आउने गर्दछन् । भाकल बुझाउन माघे संक्रान्तिदेखि हिउँद महिनाभरी आउने चलन विगतदेखि चलिआएको छ ।

प्रसिद्ध कमलामार्ई सिन्धुलीकै अर्की देवी कालीमाईकी बहिनीको रुपमा मानिने भएकाले यस मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुले कमलानदीमा स्नान गरी सोही नदीको जल चढाउने गर्दछन् ।

शुद्ध भई चोखो मनले कमलामाईस्थानको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वासले यहाँ मेला भर्न नेपालका साथै भारतबाट पनि श्रद्धालु भक्तजन आउने गरेका छन् ।

झण्डै १ हजार ३० वर्ष पहिले स्थापना भएको कमलामाईस्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ ।विक्रम सम्वत् १९ सयपछि सिन्धुलीगढीमा वहाल रहेका वडाहाकिमहरुले कमलामाई स्थानमा विभिन्न भौतिक संरचनाहरु निर्माण गर्नुका साथै विभिन्न सर–सामानहरु चढाएर, कमलामाई स्थानमा सहयोग गरेको इतिहासमा उल्लेख छ ।