
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर-दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारस्थित संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले पूर्व-पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर-दक्षिण राजमार्गमा केन्द्रित हुने बताउनुभएको हो ।
मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसाबले अघि बढाउने आवश्वासन समेत दिनुभयो ।
बैठकमा बोल्दै समितिका सदस्यहरुले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले विदेश पलायन हुने क्रम रोक्ने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले मुलुकप्रतिको विश्वास जगाउने गरी सरकारले सडकलगायतका पूर्वाधार विकासको कामलाई तिब्रता दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की (आछामी) ले देश र जनतालाई छिटो प्रतिफल दिने विकास आयोजनाको काममा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग अघि बढाउनेबारे निर्णय लिन ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो ।
सांसद आछामीले जनतालाई सास्ती हुने र मुलुकमा आर्थिक भार मात्रै पर्ने आयोजनालाई सरकारले अहिले तत्काल अघि बढाउन नहुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्