२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम, मधेश र आर्मीको जित, एपिएफको पहिलो हार


156
Shares

काठमाडौं । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल नेतृत्वको एपिएफले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो हार व्यहोरेको छ ।

रूपेश सिंहको अलराउण्ड प्रदर्शनमा मधेस प्रदेशले बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एपिएफमाथि पाँच विकेटको जित निकालेको हो ।

तीन विकेट लिएका रूपेशले ब्याटिङमा पनि ७२ रनको अर्धशतकीय इनिङ खेले । बिहीबारकै अन्य दुई खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकाल्दा त्रिभुवन आर्मी क्लवले पनि कोशी प्रदेशलाई ९ विकेटले हरायो । एपिएफको हारले शिर्ष दुईको होडमा रहेका अन्य टोलीलाई फाइदा मिलेको छ ।

अर्को विभागीय टोलीले आर्मीले वागमती प्रदेशसँग अप्रत्यसित हार व्यहोरेको एकदिनपछि नै एपिएफले पनि मधेसलाई नतिजा सुम्पियो । जारी प्रतियोगितामा नेपाल पुलिस र सुदूरपश्चिम मात्र अपराजित छन् । सुदूरपश्चिमले भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा गण्डकीलाई हराउँदै लगातार तेस्रो सफलता निकाल्यो । मधेसले भने चार खेलमा चार अंक जोड्दा एपिएफको पनि तीन खेलबाट चार अंक नै छ । एपिएफले दिएको दुई सय ४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा पाँच विकेटको क्षतिमा भट्टायो ।

तीन ब्याटर रूपेशसिंह, पवन सर्राफ र निरज यादवलेले अर्धशतक बनाउँदा मधेसले बलियो विभागीय टोलीबिरुद्ध जित निकाल्यो । रूपेशले ७२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । पवनले ६६ बलमा पाँच छक्का र चार चौकासहित ६४ रन बनाए । ७० बलमा निरजले तीन चौका र दुई छक्का मद्दतले ५२ रनको योगदान दिए । चौथो विकेटका लागि पवन र निरजले ५९ रन तथा पाँचौं विकेटका लागि रूपेश र नीरजले ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरे । ओपनर अनिल शाहले २९ रन जोड्दा अविषेक तिवारी १३ रनमा अविजित रहे ।

एपिएफको बलिङमा रमेश कुर्मी र कप्तान रोहितले समान दुई तथा श्याम ढकालले एक विकेट लिए पनि मधेसको जित रोक्न सकेनन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनायो । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आसिफ सेख र कप्तान रोहितले अर्धशतक बनाए पनि एपिएफको जितका लागि पर्याप्त भए । यी दुईले दोस्रो विकेटका लागि एक सय ३१ रनको साझेदारी गरे । आसिफले ६९ बलमा सर्वाधिक ५९ रन जोडे । उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।

७४ बल खेलेका रोहितले पाँच चौका र दुई छक्कासहित ५८ रन बनाए । सन्दीप जोरा २० रनमा आउट हुँदा अमरसिंह रौटेलाले ४९ रनमा नटआउट रहे । मधेसका लागि रूपेशसँगै प्रदीप पासवानले समान तीन निकाल्दा रञ्जित कुमारले दुई तथा अरनिको यादवले एक विकेट लिए । अर्को खेलमा स्पिनर साहब आलमले ६ विकेट लिएपछि आर्मी क्लवले बिहीवार कोशीमाथि सानदार जित आत्मसात ग¥यो ।

बागमती प्रदेशसँग बुधवार अप्रत्यासित हार व्यहोरेको आर्मीले बिहीवार मुलपानी क्रिकेट मैदानमा भने कोशी प्रदेशमाथि ९ विकेट रबाफिलो जित निकाल्यो । आर्मीको जितमा स्पिनर साहबले उत्कृष्ट बलिङ गर्दै कोशीको इनिङ धरासायी बनाए । कसिलो बलिङ गर्दै उनले ६.४ ओभरमा तीन मेडन राखेर १४ रन मात्र व्यहोरे । जारी प्रतियोगितामा साहबले १२ विकेट पूरा गरे । सर्वाधिक विकेटकर्ताको सूचिमा सूर्य तामाङ १७ विकेटसहित शिर्ष स्थानमा छन् । साहब नेतृत्वको आर्मीका बलरसामु कोशी २४.४ ओभरमा ८७ रनमै अलआउट भयो ।

जबाफी लक्ष्य आर्मीले ९.५ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । आर्मीका ओपनर इमरान सेख ३२ रनमा आउट भए । ओपनरद्वय सन्तोष कार्की र इमरानले ६९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । सुजन थपलियाले इमरानलाई बोल्ड गरे । तर सन्तोष ३२ रनमा र कुशल मल्ल २२ रनमा अविजित रहँदै आर्मी सहज जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा अलआउट हुँदा कप्तान अंकित सुवेदीले मात्र दोहोरो अंकमा रन जोडे । अंकितले ३७ बलमा ४१ रन बनाए ।

उनको इनिङमा नौ चौका रह्यो । अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् । एक समय ७०–३ को अवस्थामा रहेको कोशीले थप १८ रन जोड्दा बाँकी सात विकेट गुमाउन पुग्यो । कोशीले १९ अतिरिक्त रन पनि पाएको थियो । आर्मीको बलिङमा कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक विकेट लिँदै कोशीलाई सस्तैमा रोके ।

सुदूरपश्चिम तेस्रो खेलमा अपराजित

शेर मल्लको उत्कृष्ट बलिङ र किरण ठगुन्नाको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम प्रदेशले बिहीवार गण्डकी प्रदेशमाथि १०८ रनको जितसहित लगातार तेस्रो सफलता निकालेको छ ।

तीनै खेलमा पराजित गण्डकी अंकविहिन छ । सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो । गण्डकीका ईश्वर क्षेत्रीले २५ रन र कमल परियारले २२ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका शेरले ८.२ ओभरमा एक मेडनसहित २३ रन खर्चेर पाँच विकेट लिँदै गण्डकीको इनिङ धरासायी बनाए । गजेन्द्र बोहराले दुई तथा भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान एक विकेट निकाल्दै शेरलाई साथ दिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका सुदूरपश्चिमले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै दुई सय १ रनको मध्यम योगफल बनाएको थियो । किरणले ७३ बलमा सर्वाधिक ६० रनको योगदान गरे । उनले पाँच चौका प्रहार गरे । नारायण जोशीले ४६ रन, शेर मल्लले १९, कप्तान राजु रिजालले १६ रन, टेक रावतले १५ र नरेन साउदले १३ रन जोड्दा सुदूरपश्चिमको इनिङ दुई रन पार ग¥यो । गण्डकीका कप्तान विपिन खत्रीले तीन विकेट लिए । १० ओभरमा उनले चार मेडनसहित ९ रन मात्र खर्चिए । अंकित न्यौपानेले तीन, कमल परियार र अमृत गुरुङले समान दुई विकेट लिए ।